काठमाडौ :-  फिल्म छड्के २ को छायांकन सकेर जेरी २ को छायांकन सुरु गर्ने तयारीमा रहेका नायक अनमोल केसी दुबई उडेका छन् ।उनका पिता भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म महोत्सवमा सहभागी हुन उनी दुबई उडेका हुन् ।

विकास बोर्डले आयोजना गर्ने भनिए तापनि व्यवस्थापनको जिम्मा लिएको सूर्य कर्पोरेसन हाबी भएको महोत्सवमा अनमोल पुग्दा अधिकांश फिल्मकर्मी अचम्मित छन् ।

किनकि, अनमोल देश भित्र वा देश बाहिर आयोजना हुने ठुला ठुला फिल्म अवार्डमा समेत सहभागी हुन मान्दैनन् ।तर, आयोजना हुनु अगाडि नै चर्को विरोधमा रहेको महोत्सवमा सहभागी हुन अनमोल कसरी राजी भए भन्ने प्रश्न भने यति बेला उठेको छ ।

विशेष स्रोतका अनुसार, महोत्सव विवादित हुने भएपछि अनमोल सहभागी नहुने सोचमा समेत थिए । तर, उनका पिता भुवन केसी र जिया केसीले सम्झाएपछि उनी दुबई उड्न तयार भएका हुन् ।

सायद, यही कुरा बुझेर पनि हुनसक्छ अनमोलले महोत्सवमा दुबई उड्नु अगाडि मिडियाको अगाडि कुरा राख्न सकेनन् । आयोजकले विमानस्थलमा महोत्सवको पत्रकार सम्मेलन नै भनेर बोलाए पनि त्यसको कुनै तयारी गरेन, बरु मिडियाकर्मी दुबई जानेहरूको अनुहार खिचेर फर्किए ।

भुवन केसीले अनमोल मिडियासामु आउँछन् भनेर बारम्बार भने पनि उनी मिडियाको अगाडि फेस गर्न नै नसक्ने अवस्थामा थिए । एउटा कुरा स्पष्ट के छ भने, फिल्म क्षेत्रमा आफूलाई विवादमा खासै नपार्ने अनमोल यो महोत्सवपछि विवादको घेरामा आउने पक्का छ ।

यसको विस्तृत समाचार हामी केही दिनमै सार्वजनिक गर्नेछौँ ।रोचक कुरा त के छ भने, भुवन केसी अध्यक्ष रहेको विकास बोर्डको यो महोत्सव पारिवारिक जस्तो देखिएको छ ।

भुवन केसी, अनमोल केसी र जिया केसी विकास बोर्डको महोत्सवमा दुबई उडे । भुवन र अनमोल फिल्म क्षेत्रसँग नै जोडिएकाले महोत्सवमा जानु स्वाभाविक हो । तर, जिया केसीलाई सरकारी खर्चमा दुबई उडाउनुको अर्थ के हो ? यसको जवाफ भुवन केसीले दिनुपर्छ ।

अरूको चर्को आलोचना गर्ने सञ्चारकर्मी प्रकाश सुवेदीले पनि यही मौकामा श्रीमतीलाई सरकारी खर्चमा दुबई उडाए । विकास बोर्डका सदस्य अर्जुन कुमारले पनि यही मौकामा श्रीमतीलाई सरकारी खर्चमा दुबई उडाएका छन् ।

विकास बोर्डले ३० लाख खर्च गरेर दुबईमा नेपाली फिल्मको विकास गर्न भन्दै आयोजना गर्न लागेको महोत्सवमा सहभागीहरूको अनुहार हेर्दा पनि, अचम्मित पार्ने खालको छ ।

आम फिल्मीकर्मीहरुले विकास बोर्डले ३० लाख खर्च गरे पनि सूर्य कर्पोरेसन नै हाबी भएर भुवन केसी निरीह बनेको यो महोत्सव किन र कसका लागि गर्न लागिएको हो भन्ने अहिलेसम्म भेउ पाउन सकेका छैनन् । सायद, महोत्सव सकिएपछि यसको औचित्य खुल्दै जाला ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार