काठमाडौं :-  झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् ।

ती माताले जनही १५ सय शुल्क, पुजा सामाग्रीको ४५०, जुत्ता राखेको बेग्लै शुल्क लिएर यो कमाउ धन्दा चलाउँछिन् ।यो धन्दामा कसैलाई करकापमा त पारिएको छैन, तर सोझा सिधा मानिसहरुको सरलताको दुरुपयोग गर्दै कमाउ धन्दा चाहिँ चलाइएको छ ।

मनोकामना माताले कमाउन अवलम्वन गरेको यो कर्मकाण्ड कसरी पूरा हुन्छ त ? यो बुझ्न हामी भिसाको लागि आवेदन नगरेको र डेट एक्स्पाएर भएको पासपोर्ट लिएर माताकहाँ पुग्यौं ।

तोकिएको शुल्क पाएपछि माताले भनिन् – अब भिसा लाग्छ । तर भिसा चाहिँ कसरी लाग्छ त ? भिसाको लागि आवेदन नै दिएको छैन भने ।यीनि हुन् माता मनकामना अर्थात जेनि श्रेष्ठ । काठमाडौंको शोभाभगवती नजिकै उनको घर छ ।

घरको ढोकामा दुई जना सुरक्षा गार्ड छन् ।उनको घरमा कुनै एजुकेसन कन्सलटेन्सी वा कुनै म्यानपावर कम्पनीको कार्यलय छैन । तर, दैनिक हजारौ युवा पासपोर्ट बोकेर उनको घरमा लाम लाग्ने गरेका छन् ।

मनकामना माता भनिने, जेनिले पासपोर्ट छोएकै भरमा, भाकल गरेकै भरमा विदेश भिसा लाग्ने भनेर छरेको भ्रमका कारण मानिसहरु यो घरमा लाम लाग्ने गरेका छन ।

सोझा सिधा मानिसहरुको विश्वासलाई दूरुपयोग गर्दै त्यसलाई कमाउधन्दा बनाएको भन्ने गुनासो प्राप्त भएपछि हामी वास्तविकता बुझ्न बिहीबार शोभाभगवती स्थित उनकै घरमा पुग्यौँ । बिहानै भएकाले भिड कम भएको उपस्थित मानिसहरुले जानकारी दिए ।

मनोकामना माता भनिने जनी श्रेष्ठले के कस्ता आधारहरु विश्लेषण गरेर भिसा लाग्ने आश्वासन दिँदीरहिछिन् भन्ने हाम्रो चासो थियो ।हाम्रो कार्यक्रमका सदस्यसँग रहेको मिति गुज्रिसकेको र कतै भिसाका लागि आवेदन समेत नदिएको पासपोर्ट हामीले मनोकामना माताका अगाडि राख्ने विचार गयौं ।

तर माताको सेवा शुल्क विज्ञ चिकित्सकको भन्दा पनि महँगो रहेछ । सामान्यतः नेपालमा विज्ञ चिकित्सकले विरामी परिक्षण गरेको सात सय रुपैयाँ लिन्छन् । तर माता मनोकामनाको सेवा सुल्क रहेछ १५ सय रुपैयाँ । र, यसमा चार सय ५० रुपैयाँको पूजा सामाग्री पनि माताकै घरमा किन्नु पर्ने रहेछ ।

यो सहित जोड्दा माताको सेवा लिँदा कम्तिमा १९५० रुपैयाँ खर्च हुने देखियो । तोकिएको बमोजिम पूजाको सामाग्री र पासपोर्टमै १५ सय नगद राखेर लाइनमा आफ्नो पालो पर्खियौं ।

हामीले दिएको पुजाको सामाग्रीमा भएका फलफूल, तेल र धुप व्यवस्थापन गर्छिन् । र हामीले दिएको डेट एक्स्पाएर भइसकेका पासपार्टबाट १५ सय रुपैयाँ निकाल्छिन् ।अनि उनले ‘कुन देश जाने ?’ भन्ने प्रश्न गर्छिन् । हामीले अष्ट्रेलिया भन्न नपाई उनले हाम्रो लागि गरिदिने पूजाआजा सिध्याउँछिन् ।

१९ सय ५० रुपैयाँ तिरे बापतको सेवा पूरा गर्न माता मनोकामनालाई बढीमा एक मिनेटमै सिध्याइ दिन्छन् ।अर्थात माताले जम्मा १ मिनेट खर्च गरेर हामीबाट पनि १९५० रुपैयाँ बराबर असूली गर्छिन् ।

माताले गरिदिएको यो पूजापछि सात दिनसम्म सेवाग्राहीले घरमै धुप बाल्नु पर्ने नियम पनि उनले सिकाउँछिन् ।माताको दावीअनुसार अब केही दिन भित्र यो डेट एक्स्पाएर भएको र आवेदन समेत नगरेको पासपोर्टमा अष्ट्रेलियाको भिसा लाग्नेछ ।यथार्थमा यस्तो कुनै सम्भावना छैन । तर माताले पैसा पाएपछि यस्ता आश्वासन दैनिक सयौंलाई बाँड्छिन् ।

माताले पासपोर्ट पूजा गरेपछि कति प्रतिशतले भिसा प्राप्त गरे भन्ने कुनै आँकडा छैन ।पासपोर्टमा पूजा गर्दा भिसा लाग्ने कुरा कुनै सनातनी विश्वासमा आधारित पनि छैन । तर पनि यो घरमा यस्तै अन्धविश्वासीहरुको भिड लाग्ने गर्छ ।हामीबाट सेवा शुल्क १५ सय र पुजा सामाग्रीको ४५० लिइ सकेपछि माताले फेरि तीन चार दिनमा १० वटा धुप लिएर आउन भनेकी छिन् ।

१० वटा धुपको मूल्य उनकै घरको पसलमा १ हजार पर्छ । यसरी किनिएको धुप बालेपछि भिसा लाग्ने लगभग निश्चित हुन्छ ।तर यदि दोस्रो पटक १ हजार तिर्दा पनि भिसा लागेन भने के गर्ने ? यो अवस्थामा पनि माताले आफ्नो कमाउ धन्दालाई रोक्दिनन् । तेस्रो पटक त ग्रह शान्ति गर्नु पर्छ भन्दै उनले पाँच हजार रुपैयाँ लिएर आउन भन्छिन् ।

मातालाई कुन पासपोर्टमा भिसा लाग्छ, कुनमा लाग्दैन भन्ने हेक्का पनि छैन । उनले पासपोर्टको मिति समेत हेर्दिनन् । तर उनी आवेदन नै नदिएको अवस्थामा पनि भिसा लाग्छ भन्दै रकम असुली गरिरहन्छिन् ।माताले भनेको खुरुखुरु मान्दै जानेले तीन पटक यहाँ पुग्दा कम्तिमा ७ हजार ९५० रुपैयाँ रित्याइ सकेको हुन्छ ।यी माताको घरमा दैनिक २ हजार ५ सयसम्म मानिसहरु पुग्ने गरेका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार