अष्ट्रेलिया :- अहिले धेरै नेपाली विद्यार्थीहरुका लागि सपनाको देश बनिरहेको छ । आफूले रोजेअनुसारको पढाइ र त्यसपछिको राम्रो करियरको लागि नेपाली विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाइरहेका छन् ।

अष्ट्रेलिया आउने विद्यार्थीहरु सामाजिक संजालमा आफ्ना साथीहरुले राखेका तस्बिरबाट प्रभावित भएका छन् । उनीहरु यहाँको डलर कमाइ, उच्च आधुनिक जीवनशैली, स्वतन्त्रता र करियरको अवसरबाट लोभिएका हुन्छन् ।

जसरि नेपालमा बसेर यहाँको कल्पनामा रमाउन सजिलो छ, यहाँ बाँच्न त्यति नै कठीन छ ।नेपालमा +२ देखि ब्याचलर पढ्ने सम्मले पनि जागिर गरेका हुँदैनन् । जागिर गरेकाहरुले पनि कडा नियममा बाँधिएर र तल्लो पदमा रहेर काम गरेका हुँदैनन् ।

तर अष्ट्रेलिया आइसकेपछि काम सुरु गर्नु नै पर्छ । सुरुमा काम पाउन नै गाह्रो हुन्छ । त्यसपछि क्लिनिङ्ग, किचन हेल्पर आदिमा काम पाइन्छ । काम पाइसकेपछि पनि सजिलो हुँदैन ।

यहाँ काममा अनुशासनमा रहेर मिहिनेत गर्नुपर्छ । त्यसपछि मात्र कमाइ हुन्छ, तर त्यो कमाइले आफ्नो दैनिक खर्च र पढाइको खर्च धान्न मुस्किल पर्छ । यसले गर्दा नेपालमा मिहिनेत गर्ने बानी नपरेका अधिकांश युवा तनावमा परेर नशाको कुलतमा फस्छन् ।

नेपालमा बस्ने परिवारलाई अष्ट्रेलियामा डलरमा कमाइ हुन्छ र महिनामा लाखौँ कमाइ हुन्छ भन्ने हुन्छ । तर, यहाँको डलर नेपाली रुपैयाँमा साट्दा मात्र लाखौँ हुने हो, यहाँको जीवनशैलीको लागि त त्यो केही सय मात्र हुन्छ ।

यहाँको घरभाडा, खाने खर्च, गाडी भाडा र युनिभर्सिटी शुल्कमा डलरमै पैसा खर्च हुन्छ । उता घर परिवारले लाखौँ रुपैयाँको हिसाब गर्ने र यता आफ्नो युनिभर्सिटीको शुल्क तिर्न समेत गाह्रो हुने हुँदा केही युवा फ्रस्टेसन हुँदै डिप्रेसनमा समेत जान्छन् ।

त्यसमाथी अष्ट्रेलिया आउँदा लागेको ऋणले उनीहरु कुलतमा फस्छन् ।अष्ट्रेलिया आएका नेपाली युवाहरु गलत बाटोमा लाग्ने अर्को कारण स्वतन्त्रता पनि हो । नेपालमा रहंदा घरपरिवार, समाज, संस्कृति, छिमेकी, नातागोता आदि सबैका कारण युवाहरु निश्चित नियमभित्र बाँधिएका हुन्छन् ।

तर यहाँ उनीहरुले ती सबै कुराबाट छुटकारा पाउँछन् । नेपालको समाजभन्दा यहाँको समाज अलि खुल्ला प्रवृत्तिको पनि छ । त्यसकारण उनीहरु आफूलाई स्वतन्त्र ठान्छन् र यौन, ड्रग्स, जुवा आदिमा फस्छन्।

अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीहरु पहिले नै यहाँको सत्यता बुझेर मात्र आउनु जरुरी छ । त्यसपछि विद्यार्थी लगायत उसको घरपरिवारले पनि अष्ट्रेलिया विद्यार्थी पढ्नको लागि आएको हो,

पैसा कमाउन आएको होइन भन्ने बुझेर पढाइ भन्दा डलरलाई महत्व दिन छोड्नुपर्छ । यसको साथै विद्यार्थीले यहाँ पाउने स्वतन्त्रतालाई आफ्नो व्यक्तित्व विकासमा निखारता ल्याउनको लागि प्रयोग गर्नुपर्छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार