अष्ट्रेलिया :-  अस्ट्रेलिया गइसके पछि अधिकांश विद्यार्थीको चाहना स्थायी भिसा PR प्राप्त गर्नु हुन्छ। यसका लागि विद्यार्थीहरुले पीआरका लागि सहज हुने विषय परिवर्तन पनि गर्ने गर्दछन्।

महँगो विषय पढेमा मात्र पीआर पाउन सजिलो हुने भ्रम र संगै गलत सुचनाले गर्दा विद्यार्थीहरु अनावश्यक मानसिक दबाबमा आउने बताउनुहुन्छ, रजिस्टर्ड माइग्रेसन एजेन्ट तथा डाँफे कन्सल्टिङ्गका डाइरेक्टर सन्तोष कर्ण। यसै विषयमा आज हामीले उहाँसंग छोटो तथा सूचनामूलक संवाद गरेका छौं।

अष्ट्रेलियाको पीआरका लागि विद्यार्थीलाई कस्तो कोर्स गर्दा सहज हुन्छ?

विद्यार्थीलाई महँगो कोर्स पढ्यो भने मात्र पीआर पाइन्छ भन्ने छ। तर पछिल्लो समय भोकेसनल कोर्स पीआरका लागि एकदम सहज माध्यम बनिरहेको छ। माइग्रेसनमा अहिले भोकेसनल कोर्स लोकप्रिय भइरहेको छ। विशेषगरी नेपाली र भारतीय विद्यार्थीहरु भोकेसनल कोर्सप्रति आकर्षित भैरहेका छन्।

भोकेसनल कोर्स सहज हुनुका कारण के-के हुन्?

नेपाली र भारतीय अधिकांश विद्यार्थीहरुको आर्थिक अवस्था भनेको यहाँ रहेर काम नगरी पढ्न सक्ने किसिमको हुँदैन। यसको अर्थ, विद्यार्थीले आफ्नो खर्च आफै धान्नुपर्ने स्थिति हुन्छ। भोकेसनल कोर्स अरु कोर्सभन्दा सस्तो हुन्छ। जसले गर्दा विद्यार्थीहरुमा आर्थिक दबाब कम हुन्छ। यो कोर्स सीपमूलक हुन्छ। साथै पढ्न, पास हुन पनि सजिलो हुन्छ भने छोटो अवधिमै कोर्स पूरा गर्न पनि सकिन्छ।

यसले पीआरका लागि कसरी सहयोग पुग्न सक्छ ?

मैले अघि पनि भनें, यो सिपमूलक कोर्स हो। अष्ट्रेलियाका विभिन्न राज्यले समय-समयमा स्किल्ड अकुपेशन लिस्ट सार्वजनिक गर्ने गर्दछन्। त्यो स्किल्ड अकुपेशन लिस्टको अर्थ बजारमा त्यो पेशाको माग छ कि छैन, माग कति छ भन्ने हो।

त्यो स्किल्ड अकुपेशन लिस्टमा भएका पेशा हेरेर, सोही अनुसारको कोर्स रोज्ने हो भने पीआरका प्राप्त गर्ने सम्भावना हुन्छ। यसरी कोर्स रोज्दा विद्यार्थीलाई म रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्न सल्लाह दिन्छु। अन्य परामर्शदाताहरु भेट्नुभयो भने पनि कृपया एकपटक आफूलाई कुरा राख्न सहज हुने रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्नुस्।

विद्यार्थीलाई आफूले पढिरहेको कोर्स पढ्ने इच्छा छ, तर पीआरका लागि भोकेसनल कोर्स गर्न चाहन्छन् भने, यो सम्भव हुन्छ?हजुर, हुन्छ। दुवै

कोर्स संगसंगै लैजान पनि सक्नुहुन्छ। र, यो कोर्सपछि ब्याचलर्स, मास्टर्स पनि गर्न सक्नुहुन्छ। भोकेसनल कोर्स पढिसकेर पीआर प्राप्त गरेपछि पनि पढाइलाई निरन्तरता दिन सकिन्छ।

तर, यसका लागि विद्यार्थी भाइबहिनीलाई म रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्न अनुरोध गर्छु। मैले यो बारम्बार किन भनिरहेको छु भने गलत जानकारीका आधारमा कोर्स परिवर्तन गर्ने गर्नुभयो भने तपाईंको भिसा जोखिममा पर्न सक्छ।

भोकेसनल कोर्स पछि विद्यार्थीले पीआर प्राप्त गर्ने प्रक्रिया के रहन्छ?

विद्यार्थीले कुकरी अटोमोटिभ जस्ता कुन विषयको कोर्स गर्नुभएको छ, त्यही अनुसार उहाँको स्किल एसेसमेन्ट हुन्छ। त्यो भनेको सम्बन्धित पेशामा तोकिएको दक्षता अनुसार तपाईंको सिप छ कि छैन भनेर जाँच्नु हो। यदि त्यो स्किल एसेसमेन्ट सफल भयो भने तपाईंको पीआरको बाटो खुल्छ। – स्रोत : सरल रेखाबाट साभार

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार