काठमाडौँ :-  चाबहिल मित्रपार्क स्थित कैलाशकुट बहुमुखी क्याम्पसले एक वर्षको अवधिमा आफ्ना १२२ जना विद्यार्थीलाई विदेश अध्ययनका लागि अनुमतिपत्र दिएको छ । उक्त क्याम्पसमा अध्ययनरत ५ सय जना विद्यार्थीमध्ये १२२ जनाले विदेश अध्ययनका लागि अनुमति लिएका हुन् ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीले सम्बन्धित कलेजका ३ जना शिक्षकबाट सिफारिस बनाउनुपर्छ । आफ्नो कलेजमा पढेको विद्यार्थी भन्ने आशयको उक्त सिफारिस पत्रको आधारमा विद्यार्थीलाई भिसा पाउन सहज हुन्छ ।कलेजका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार अधिकांश विद्यार्थीको ध्यान विदेश हुने गरेको छ ।

प्रायः विद्यार्थीको सोच नेपालमै पढ्नुपर्छ र यही केही गर्नुपर्छ भन्ने हुँदैन । सबैको विदेश गएर पढ्ने र उतै सेटल हुने भन्ने खालको हुन्छ,’ उनले भने ।साहिल खत्री (नाम परिवर्तन) ले भर्खरै यूकेको लागि भिसा पाए ।

यूकेको युनिभर्सिटी कलेज बर्मिङ्घममा उनले ब्याचलर अफ कुलिनरी विथ प्लेसमेन्ट पढ्न जान लागेका हुन् ।काठमाडौंकै एक नाम चलेको कलेजबाट प्लस टु पास गरेका उनले त्यही बेलादेखि नै विदेश जाने सोच बनाएका थिए । ‘नेपालमा पढेर के गर्ने ?’ जिज्ञाशा राख्नुपूर्व नै उल्टै उनले प्रश्न गरे ।

‘मेरा दुई दाईले यही पढे । लाखौं पैसा खर्र्चेर स्नातकोत्तर तहसम्मको पढाई सकेर पनि अहिले बेरोजगार भएर बसेका छन् । अनि मैले प्लस टु पढेर थप पढ्न विदेश जान्छु भन्ने सोच बनाएको थिए । लक्कीली भिसा पनि लाग्यो ।’ उनले प्रफुल्लित मुद्रामा भने ।

विदेश गएर पढाईसँगै कमाउन पनि सकिने, आफ्नो भविश्य पनि सुरक्षित हुने उनको बुझाई छ । उनीसँगै पढेका अन्य साथीहरू पनि कोही अष्ट्रेलिया, कोही फ्रान्स पुगिसकेका छन् ।

प्रविन राई मास्टर अफ कम्प्युटर पढ्न अष्ट्रेलिया जान लागेका छन् । नयाँ बानेश्वरस्थित मेन्टर इन्स्ट्यिुटबाट आईएलटीएस पढेका उनी अबको केही महिनामै अष्ट्रेलिया पुग्नेछन् ।

पछिल्लो साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले एनओसी लिएका छन् । त्यसमा सबैभन्दा बढी अस्ट्रेलियाका लागि कुल १५ हजार १०३ जनाले एनओसी लिएका छन् ।

उनलाई नेपालको अस्थिर राजनीतिक अवस्था देख्दा दिक्क लाग्छ । यसले पनि उनलाई नेपालमा बस्न मन नलागेको हो । ‘देशमा भ्रष्टाचार व्याप्त छ । सबै लुट्न मात्रै उद्धत छन् । हामीले रातदिन नभनेर मिहेनत गरेर कमाई गर्दा पनि महिना भरलाई पुग्दैन । हामी जस्ता युवाका लागि केही गर्न सकिने अवस्था छैन ।’ उनले भने ।

शैक्षिक परामर्श गर्ने भनेर कन्सल्टेन्सीहरूमा आईएलटीएस, पीटीई, टोफेल जस्ता अंग्रेजी टेष्ट गर्नेहरूको भीड लाग्ने गरेको छ । पुतलीसडकस्थित ग्रेस इन्टरनेशलमा दैनिक डेढ देखि २ सय जनाले आईएलटीएस, पीटीई सिक्छन् । नयाँ भर्ना हुन आउनेको चाप उस्तै छ ।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले धेरै विद्यार्थीहरूको चाहना विदेश पढ्न जाने भन्ने नै रहेको बताए । उनका अनुसार नेपालबाट अध्ययनका लागि सबैभन्दा बढी अष्ट्रेलिया जाने गरेका छन् ।

कैलाशकुट क्याम्पसका प्रमुख नारायणप्रसाद पौडेलले नेपालमा रोजगारीको अवसर नहुनु, विद्यार्थीहरूले आफ्नो भविष्य सुरक्षित नदेख्नु जस्ता कारणले विदेश पलायन हुने दर बढिरहेको बताउँछन् । कतिपय विद्यार्थीहरू त आफूभन्दा सिनियरको देखासिकीमा लागेर पनि विदेश मोहमा लागेको उनको बुझाई छ ।

‘आफ्नो छिमेकी दाई अमेरिका, अष्ट्रेलियामा पढिरहेको छ । महिनाकै लाखौं कमाइरहेको छ । अनि उसको मनमा कसरी नेपाल बसेर पढौं भन्ने आउँछ ? उसलाई पनि नेपाल पढ्न त के बस्नै मन लाग्दैन ।’ उनले भने ।

कलेजमा सिफारिस लिन आउने विद्यार्थीहरू नेपाल राम्रो वातावरण नरहेको बताउने गरेको उनको भनाई छ । यस्तै अवस्था रहेमा निकट भविष्यमा प्लस टुपछि कलेजहरूले विद्यार्थी नै नपाउने समस्या हुन सक्ने उनको भनाई छ ।

‘विगतको तुलनामा अहिले क्याम्पसहरूमा विद्यार्थी आधा कम भइसकेका छन् । यसप्रति राज्य गम्भीर हुन सकेन भने अबको केही वर्षमा त विद्यार्थी नपाएर क्याम्पस बन्द गराउनुपर्ने अवस्था आउन सक्छ ।’ पौडेलले भने ।

वैदेशिक अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिनेको संख्या अत्यधिक बढ्न थालेपछि सरकारले यसलाई व्यवस्थित गर्न खोजेको हो । कुन देशमा, कुन विषयका लागि विद्यार्थीलाई एनओसी दिने, नदिने लगायतका विषयमा छलफल थालिएको हो ।

पछिल्लो साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले एनओसी लिएका छन् । त्यसमा सबैभन्दा बढी अस्ट्रेलियाका लागि कुल १५ हजार १०३ जनाले एनओसी लिएका छन् ।

त्यस्तै, क्यानाडाका लागि कुल ८ हजार १३५, जापानका लागि ६ हजार ६२५, बेलायतका लागि ५ हजार ५३३ र अमेरिकाका लागि एक हजार ८६० ले एनओसी लिएका छन् ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार