श्रीमान श्रीमती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर पश्चिम दैलेखको ठाटी काँध गाउँपालिका–६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् ।

एक अर्कालाई बुझ्दै–बुझाउँदै, कमी–कमजोरीलाई औँल्याउँदै अघि बढेका थापा दम्पती अहिले अन्य लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।

सोमबार थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन् ।भनिन्छ, संघर्ष नै सफलता हो । एउटा लक्ष्यमा लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन ।

थापा दम्पतीको जीवनमा उक्त भनाइले सार्थकता पाएको छ । मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए ।तर उनी सफल भएनन् ।

दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् ।

यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् ।

लोक सेवाको तयारी गर्दै गर्दा नेपालगञ्जमा दुई जनाको पहिलो भेट भएको थियो ।दुवै जना पढाई प्रति निकै लगाव राख्थे । ०७७ सालमा विवाह गरेका उनीहरू निम्न मध्यम पारिवारिक पृष्ठभूमिमा हुर्के बढेका हुन् । दुवैको पढाई एसएलसीसम्म मध्यम स्तरको थियो ।

साइन्स विषय पढेका दुवै जनाले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर गरे ।श्री बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी पास गरेका थिए ।

त्यसपछि होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा कक्षा १२ र १२ सम्मको अध्ययन गरे । विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी दिएकी हुन् भने त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरेकी थिइन् ।

मनबहादुरले रातोपाटीसँग भने,‘आखिर संघर्ष नै सफलता रहेछ ।’ सामान्य परिवारमा जन्मेको उनका लागि पढाइको संघर्षका दिनहरू निकै प्रेरणादायी छन् । घरमा दुई भाइ र तीन बहिनी ।

घर खर्च जुटाउन र छोराछोरीको शिक्षा–दीक्षाका लागि बुबा भारतको कालापहाडमा मजदुरी गर्थ जान्थे । ‘बुबाको मजदुरीबाट कमाएको पैसाले घर खर्चसँगै पढाई गर्नुपर्ने बाध्यता थियो,’ उनले भने ।

मनबहादुर पनि ३ पटक पैसा कमाउन कालापहाड गएको बताउँछन् । निजामती सेवाको प्रवेशसँगै केही समय मुगुको रारा राष्ट्रिय निकुञ्जमा काम गरेको अनुभव उनीसँग छ । ‘संघर्ष गर्दै गर्दै आइयो, संघर्ष नै प्राप्ति रहेछ,’ उनले भने ।

श्रीमान्–श्रीमती नै प्रतिस्पर्धी – शाखा अधिकृतको तयारी गर्दै गर्दा श्रीमान्–श्रीमतीबीच नै प्रतिस्पर्धा चल्थ्यो रे । त्यही कारणले सफलता प्राप्त हुन सकेको मनबहादुरले बताए । उनी भन्छन्,‘उनले लेखेको कुरा मैले हेर्थे भने मैले लेखेको कुरा उनले हेर्थिन्, एकले अर्कोको कमीकमजोरी पत्ता लगाएर सोको सुधारतर्फ हाम्रो ध्यान जान्थ्यो ।

त्यही कारण आज शाखा अधिकृत पास गर्न भयौँ ।’पश्चिम दैलेख जस्तो गाउँमा बसेर पढाई गर्न निकै कठिन थियो । ‘छैटौँको जागिर खाएर गाउँमा पढ्ने चानचुने कुरा थिएन, अहिलेसम्म गाउँमा न बत्ती पुगेको छ, न नेटको पहुँच,’ उनी भन्छन् । उता विना जिल्ला अदालतमा जागिरे थिइन् ।

‘एकातर्फ घर व्यवहारको पनि रेखदेख गर्नै पर्ने अर्कोतर्फ बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म काममा व्यस्त हुनुपर्थ्यो,’ विनाले भनिन्,‘ बचेको समयलाई खेर जान नदिएर अध्ययन गर्थे ।’ विनाको शब्दलाई क्याच गर्न सक्ने क्षमता धेरै छ ।

जसका कारण पहिलो प्रयासमा खुल्लातर्फ शाखा अधिकृतमा सफल भइन् । शाखा अधिकृतको स्थायी नियुक्ति प्राप्त गरिसकेपछि थापा दम्पतीले भने,‘कैयौँ सपनालाई मारेर आज एउटा सपना पुरा भएको छ ।’ (रातोपाटी बाट)

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार