अष्ट्रेलिया :- माइक्रो बायोलोजीमा स्नातक तह सकेका दिलिप गिरीले अब म नर्स बन्छु भन्दा उनका साथीहरू हलल्ल हाँसेका थिए।अझै पनि नेपालमा महिलाको तुलनामा निकै कम पुरुषले नर्सिङ पढ्छन्।
सन् २०११ को कुरा हो, विज्ञान विषय पढेको छोरो नर्सिङ पढ्न विदेश जान्छु भन्दा गिरीका आमाबुबाले प्रश्न गर्नु स्वाभाविक थियो।तर, त्यति बेलासम्म गिरीले बुझिसकेका थिए- अस्ट्रेलियामा नर्सिङ राम्रा अवसरसहितको पेसा बनेको छ।काम सुनिश्चित हुने र कमाइ पनि राम्रो हुने थाहा पाएको थिएँ। त्यसैले म नर्सिङ पढ्न र त्यसैलाई आफ्नो पेसा बनाउन अस्ट्रेलिया आएँ,” उनले बीबीसीसँग सुनाए।
“विद्यार्थी रहँदा नर्सिङ गाह्रो विषय थियो। पढाइ शुल्क पनि निकै महङ्गो। कतिपय अवस्थामा त सबैकुरा छोडेर नेपाल फर्किऊँ जस्तो लाग्थ्यो तर काम सुरु गरेपछि मेहनतको फल मिल्दै गयो,” गिरीले आफ्नो अनुभव सुनाए। हाल उनी रजिस्टर्ड नर्स हुन् र नर्सिङसम्बन्धी एक कम्पनीमा व्यवस्थापकको रूपमा काम गर्छन्।
सन् २०१२ मा आफू अस्ट्रेलिया पुग्दा त्यहाँको नर्सिङ जनशक्तिको कुलमध्ये जम्मा ६ प्रतिशत पुरुष रहेको गिरी बताउँछन्। अहिले त्यो सङ्ख्या २० प्रतिशत पुगेको उनले जिकिर गरे। नेपाल नर्सिङ एसोसिएशन अस्ट्रेलियाका पब्लिक अफिसर समेत रहेका उनका अनुसार पढ्नका लागि अस्ट्रेलिया पुगेका नेपालीहरूमध्ये धेरै नर्सिङप्रति आकर्षित छन्।
“यहाँ भर्खर आएकादेखि वर्षौँ बसेर अन्य पेसामा रमाएकाहरू समेत नर्सिङ पढ्न थालेका छन् । आजभोलि ४० वर्षभन्दा माथि उमेर समूहका नेपालीहरूसमेत नर्सिङ पढ्न कलेज धाउन थाल्नु यो पेसाप्रतिको बढ्दो आकर्षणको उदाहरण हो,” उनले भने ।सम्भावना र अवसर-
नेपालमा पीसीएल नर्सिङ गरेर अस्ट्रेलिया जाने अधिकांशले पुनः सोही विषयमा स्नातक तह अध्ययन गर्नुपर्ने हुन्छ। यहीँ स्नातक तहमा नर्सिङ पढेकाहरूले भने सोझै रजिस्टर्ड नर्स बन्नका लागि परीक्षा दिनुपर्ने बताइन्छ। ती परीक्षा उत्तीर्ण गरेकालाई अस्ट्रेलियन हेल्थ प्राक्टिशनर रेगुलेसन एजेन्सी एएचपीआरएले आधिकारिक रूपमा नर्सको मान्यता दिन्छ जसलाई आरएन भनिन्छ।
केहीले भने सीमित अवधिको तालिम लिएर असिस्टेन्ट इन नर्सिङ अर्थात् एआईएनको रूपमा काम गर्छन्।यी दुवै पेसाका लागि अस्ट्रेलियामा धेरै सम्भावना र अवसर भएको गिरी बताउँछन्। यहाँ पाका उमेर समूहका धेरै मानिस छन्। उनीहरूको रेखदेखका लागि एजिङ केअर वा नर्सिङ होमहरू पनि उल्लेख्य छ।
यो को” रोनाभाइरसको महामारीमा समेत प्रभावित नभएको क्षेत्र हो। त्यसैले नर्सहरूको माग बढ्दो छ,” उनले सुनाए। मागसँगै पारिश्रमिक तथा सेवासुविधा पनि बढ्दो भएको र अस्ट्रेलियामा आप्रवासी नर्सहरूलाई स्थायी बसाइँ सर्न अन्य पेसाकर्मीको तुलनामा सहज हुने भएकाले नर्सिङ पढ्न वा तालिम लिएर सहायक नर्स बन्न चाहनेहरू धेरै भएको गिरीको बुझाइ छ।
उनीहरूले सातामा ५ दिन दैनिक ८ घण्टासम्म काम गर्न पाउँछन्। यद्यपि, को” भिडपछि सेवाग्राहीको अनुपातमा नर्सहरू उत्पादन नहुँदा जनशक्तिको अभाव देखिएको र “उपलब्ध नर्सहरूले नै थप समय काम गर्नुपर्ने वा अरूको शिफ्ट कभर गर्नुपर्ने”जस्ता समस्या देखिएको बताउँछिन् ज्योति बस्नेत।
उनी विगत ७ वर्षदेखि न्यू साउथ वेल्स अस्पतालमा नर्सिङ अध्यापन गराउँछिन्। त्यसअघि १० वर्ष नर्सको रूपमा काम गरेकी उनी भन्छिन्,”नर्सिङ कसैका लागि सेवा भाव वा रहरको विषय हो भने कसैका लागि राम्रो कमाइ हुने अवसर। तर, जे कारणले यस पेसा अपनाएको भए पनि बिरामीको राम्रो सेवा र सहयोग गर्नै पर्छ।”
यद्यपि, विविध चुनौतीहरूका कारण कहिलेकाहीँ हरेक नर्सले आवश्यकता अनुरूप जिम्मेवारी वहन गर्न नसक्ने स्थिति आउने गरेको उनी बताउँछिन्।घण्टौँ लामो कार्यभार वा अस्ट्रेलियामा आवश्यकता पूर्तिका लागि खट्नै पर्ने दबावका कारण सिर्जना हुने तनावलाई मुख्य चुनौतीका रूपमा व्याख्या गर्छिन् बस्नेत।
अस्ट्रेलियामा आर्थिक कारण कहिलेकाहीँ एक दिन छुट्टी लिन र थकाइ मार्नसमेत नपाइने परिस्थिति हुनसक्छ। जसले गर्दा नर्स स्वयं अधिक थकान वा तनावमा हुन्छन् र त्यसको असर उनको काममा पर्न सक्छ,” उनले प्रस्ट्याइन्। सीमित जनशक्तिलाई कामको चाप बढी हुनु र अन्य सहकर्मी सहयोगी स्वभावको नहुनुलाई समस्या मान्छिन् अस्ट्रेलिया रेडक्रस, तास्मानीयामा कार्यरत नर्स सविना कार्की।
त्यस्तो समयमा आफूलाई मानसिक तनाव बढ्ने वा झर्को लाग्ने उनको अनुभव छ।तर पनि आफूले रोजेको पेसा हो। यहाँ आफूलाई कस्तो महसुस हुन्छ भन्नेभन्दा बढी आफ्नो सेवाग्राहीले कस्तो महसुस गरेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले धैर्य गर्छु,” उनले सुनाइन्।
“आफूलाई गाह्रो हुँदा सहकर्मी वा आफूभन्दा माथिका कर्मचारीसँगको सल्लाहमा केही मिनेट ब्रेक लिन्छु। प्राय श्वाससम्बन्धी कसरत गरेर काममा फर्कन्छु।” आफूलाई आवश्यक आराम वा सहायता खोज्न धकाउँदा कहिलेकाहीँ ठूलै समस्याहरूको समेत सामना गर्नुपर्ने अध्यापक ज्योति बस्नेतको बुझाइ छ।
पेसामाथि प्रश्न-अस्ट्रेलियामा एक जना नेपाली नर्सले बिरामी वृद्धामाथि दुर्व्यवहार गरेको खबर अहिले सामाजिक सञ्जालमा चर्चामा छ। नाइन न्यूजका अनुसार सिड्नीस्थित एक वृद्ध वृद्धा राखिने नर्सिङ होममा कार्यरत नेपाली युवतीले बिर्सने रोग (डिमेन्सिया) भएको बिरामीलाई आफूले झापड हानेको र धकेलेको आरोप अदालतमा स्वीकार गरेकी छन्।
सन् २०२२ को मार्च महिनामा ती नेपाली असिस्टेन्ट इन नर्सिङको हिंसात्मकता व्यवहारबारे उनका सहकर्मी उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन्। उनको कथित स्वीकारोक्तिसँगै धेरै मानिसले घटनाबारे विभिन्न टीकाटिप्पणी गरेका छन्।अधैर्य जनशक्ति विश्वको निम्ति बोझ हुन सक्छ!
कतै हामीले विज्ञान विषयमा जोड दिँदा समाज कल्याणको पाटो बिर्सिएका त होइनौँ?,” सामुदायिक विकासविद् भनेर चिनिने नवराज पन्तले प्रश्न गरेका छन्। उनी प्रत्येक विज्ञान सङ्कायमा समाज कल्याण विषय अनिवार्य गरिनु पर्ने धारणा राख्छन्।पूर्वमन्त्री समेत रहेका जेपी गुप्ताले “यस घटना विदेशमा रही
यस्तो संवेदनशील पेसा अपनाएकाहरूका लागि गहिरो शिक्षा बन्ने” विचार राखेका छन्। तर, कतिपयले उक्त घटनासँग जोडेर समग्र नर्सिङ पेसा वा नेपाली प्रवृत्तिलाई सामान्यीकरण गरेको पाएकी छिन् अस्ट्रेलियाको पर्थस्थित एक जनरल अस्पतालमा कार्यरत नर्स स्वस्ति श्रेष्ठले।
“कुनै घ टनाबारे आफ्नो तर्क राख्न सबैजना स्वतन्त्र हुनुहुन्छ। तर, त्यसैलाई आधार बनाएर नर्सिङ पेसा वा सम्पूर्ण नेपाली नर्सबारे नकारात्मक टिप्पणी गर्नु स्वाभाविक होइन,” उनले आफ्नो मत राखिन्। “किनकि हरेक नर्स फरक व्यक्ति हो। उसको समस्यासँग जुध्ने तरिका फरक हुन्छ।
नर्सिङ पेसामा सबैको जिम्मेवारी धेरै हुन्छ। ती जिम्मेवारी पूरा गर्न नसक्ने सबैले बिरामीमाथि दुर्व्यवहार गर्दैनन्,” उनले थप भनिन्। यस्ता घटनाहरू प्राय अधिक तनाव वा पारिवारिक, आर्थिक समस्याहरूका कारण प्रेरित हुने गरेको ज्योति बस्नेतले देखेकी छन्। त्यसैले उनी नर्सहरूले पर्याप्त आराम र परामर्शमा ध्यान दिनुपर्ने मत राख्छिन्।
त्यस्तै अभिमुखी कार्यक्रम, तालिम र पढेको कुरा व्यवहारमा उतार्ने अभ्यासले समेत यस्ता समस्याहरू कम गर्न सक्ने उनी बताउँछिन्।यहाँ तालिमहरू त हुन्छन् तर त्यहाँ सिकाइएका कुराहरूलाई हल्का रूपमा लिने प्रवृत्ति हाबी हुँदा समस्या देखिन्छ,” उनले थप जानकारी दिइन्।
नेपाली नर्स एसोसिएशन अस्ट्रेलियाले त्यहाँ रहेका नर्सहरूलाई एउटै सञ्जालमा समेट्ने र उनीहरूले भोगिरहेको समस्याहरू न्यूनीकरण गर्न तालिम, सहकार्य तथा ज्ञान हस्तान्तरणजस्ता कार्यक्रममा जोड दिएको सङ्घका पब्लिक अफिसर दिलिप गिरी बताउँछन्।
हामीले नेपाली नर्सहरूको सशक्तीकरणका लागि परामर्शसमेत गराउँदै आएका छौँ,” उनले भने।तर, यो पेसालाई धैर्यको पर्यायको रूपमा अपनाएको भन्ने उनी नर्समा आवश्यक धैर्य, समानुभूति र दयाभाव कुनै तालिमबाट सिक्न/सिकाउन नसकिने तर्क राख्छन्। भन्छन्,”समानुभूति मान्छेको मनबाट महसुस हुनुपर्छ। यो नर्समा हुनुपर्ने प्राथमिक गुण हो।“
उनी भन्छन्,”कसैलाई आफ्नो परिवारको सदस्यजसरी व्यवहार गर्न सक्ने मानसिक वा शारीरिक अवस्थामा छैनौँ भने हामी जो कोहीले कामबाट केही दिनको छुट्टी लिनु उचित हुन्छ। साभारः यो समाचार बीबीसी न्यूूज नेपालीका लागि स्वेच्छा राउतले लेखेकी हुन्।